आज देशभर ७५ लाख लिटर दही खपत हुने अनुमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार यो पर्व नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने एक प्रमुख माध्यमका रूपमा स्थापित भएको छ ।

असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र र स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको अध्यक्ष दाहाल बताउँछन् । यो खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

अध्यक्ष दाहालका अनुसार नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । नेपाली समाजमा परम्परागत रूपमा प्रयोग गरिने दही र मोहीको पोषणमूलक महत्त्व रहेको छ । दहीमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, र भिटामिन बी–१२ जस्ता पोषक तत्त्वहरू पाइन्छन्, जसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछन् ।

  • १५ असार २०८३, सोमबार १२:४६ प्रकाशित