पोखरा ।
यही असार १७ गते बुधबार नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०को गण्डकी प्रदेश स्तरीय एकता बैठक बस्ने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम बुधबार पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा हुने नेकपाका गण्डकी प्रदेश सह–संयोजक गायत्री गुरुङ (कुसुम)ले जानकारी दिएकी छिन् । गुरुङको अनुसार कार्यक्रम विहान ११ बजेदेखि शुरु हुनेछ ।
एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह–संयोजक माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने बताइएको छ । सम्बोधनका लागि प्रचण्ड र माधव सोहि दिन विहान हवाई मार्गबाट पोखरा आउने तालिका तय भएको गण्डकी सह–संयोजक गुरुङले जानकारी दिईन् ।
कार्यक्रममा गण्डकी ईञ्चार्ज देवेन्द्र पौडेल, सह–ईञ्चार्ज त्रय हरि अधिकार ९कुमार०, श्रीनाथ बराल र अम्रिता थापा मगर, प्रदेश संयोजक कृष्ण नेपालीलगायत पनि सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरुसहित सल्लाहकारहरु, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, एकता पूर्वका दुबै पार्टीका गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय आयोग तथा निकायका सदस्यहरु, जिल्ला ईञ्चार्ज तथा सह–ईञ्चार्जहरु, जिल्ला संयोजक तथा सह–संयोजक, गण्डकी प्रदेशका ११ वटै जिल्लाका दुबै पार्टीका पूर्व पदाधिकारीहरुसहित करीब ७ सय जना सहभागी हुने सह–संयोजक गुरुङले जानकारी दिईन् ।











