तनहुँ र म्याग्दीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको म्याग्दी र तनहुँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परि दुई बालबालिकासहित ३ जनाको ज्यान गुमेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गुमेको हो । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा शनिबार बिहान ज्यान गुमेको हो ।

त्यस्तै म्याग्दीमा टिपरको ठक्करबाट एक मजदुरको ज्यान गुमेको छ । धवलागिरि गाउँपालिका ४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१-००४-क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो । दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका९४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका ३ का ३० वर्षीय राजेश घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सार्कीको शव परीक्षणका लागि धौलागिरि अस्पताल, बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । -रासस

  • १३ असार २०८३, शनिबार १२:५५ प्रकाशित