काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् ।
नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् ।
उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।











