काठमाडौं ।
अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो ।अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै, शरण कुमार राई उपमहासविच तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहेका छन् ।अध्यक्ष राईले ८ जना पदाधिकारी सहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावली सहित दल दर्ताका लागि निवेदन दिएका हुन् ।
यसअघि अशोक राईको समूहले उपेन्द्र यावदको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुट विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टीफुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिएका थिए ।
सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टी बिहीन बन्न पुगेको थियो ।
त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । नेपाली विशेषता अनुरुपको समाजवादलाई आफ्नो राजनीतिक ध्येय बनाएको समाजवादी पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, समृद्धि र सुशासनलाई राजनीतिक कार्यदिशाको रुपमा अघि बढाउने नवगठित पार्टीका सचिव मनिकर कार्कीले बताए ।












