काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल
पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो ।
विभागको आधिकारिक ईमेलमार्फत पठाइएको पत्रका आधारमा प्राप्त निर्देशनअनुसार उनलाई खोजतलास गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट फेला पारिएको प्रहरीले जनाएको छ ।
प उनलाई साँझ करिब ५:१५ बजे नियन्त्रणमा लिएर पक्राउ पुर्जी बुझाई कानुनी प्रक्रिया पूरा गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको हो ।
पक्राउ गरेपछि उनलाई आवश्यक कारबाहीका लागि विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २१ समेतका आधारमा सम्पति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीलाई ईमेल पठाएको थियो ।
त्यसपछि बुटवल उपमहानगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २५ मैयु आवास आयोजनामा बसोबास गर्ने पौडेललाई समातिएको हो ।
उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ शुभ होटल स्थितमा फेला पारी सम्पति शुद्धीकरण अनुसन्धान विभागबाट जारी भएको जरुरी पक्राउ पुर्जी दिइएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रसाद यादवको जिम्मा लगाएर नेपालगञ्ज पठाइएको छ ।
अहिले नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं ल्याइँदैछ ।












