पोखरा ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी देशभरका ८ वटै प्रादेशिक कार्यालय (काठमाडौं उपत्यकासहित) मध्ये उत्कृष्ट भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको २०८३ जेठ महिनाको मासिक कार्यसम्पादन मूल्यांकनमामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गण्डकी देशभरका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमध्ये उत्कृष्ट भएको हो ।
केन्द्रीय अभिलेख प्रणालीका आधारमा गरिएको मूल्यांकनमा कार्यालयले ६० पूर्णांक मध्ये ५०.१३ अंक प्राप्त गर्दै ८३.५५ प्रतिशतसहित पहिलो स्थान हासिल गर्दै उत्कृष्ट भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी इकाइबाट दैनिक रूपमा सम्पादन हुने कार्यको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सोही आधारमा कार्यालय प्रमुखहरूको कार्यसम्पादन, तत्परता, पहल, समय व्यवस्थापन र समग्र कार्यसम्पादन स्तरको वस्तुगत मूल्यांकन गर्दै आएको छ । सोही सूचकका आधारमा प्रत्येक महिनाको रिपोर्ट कार्ड तयार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
रिपोर्ट कार्डअनुसार दोस्रो स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेत रहेको छ । उसले ५०.०१ अंक अर्थात् ८३.३५ प्रतिशत प्राप्त गरेको छ । त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ ४९.९३ अंकसहित तेस्रो स्थानमा छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले मुल्यांकन गरिएका कार्यालयहरूलाई ‘क’, ‘ख’ र ‘ग’ गरी तीन श्रेणीमा विभाजन गरेको छ । ‘क’ श्रेणी उत्कृष्ट, ‘ख’ सन्तोषजनक र ‘ग’ सुधार गर्नुपर्ने अवस्थाको सूचक मानिएको छ । सार्वजनिक गरिएको सूचीमा अधिकांश कार्यालय ‘क’ श्रेणीमा परेका छन् भने इटहरी कार्यालय ‘ख’ श्रेणीमा परेको छ।
यस उपलब्धिप्रति नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गण्डकीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सम्पूर्ण ट्राफिक कर्मचारीकासाथै मातहत जिल्लाका ट्राफिक प्रहरी कार्यालय अनि तिनिहरुमा कार्यरत ट्राफिक प्रहरीका साथै सहयोग गर्ने सबैलाई बधाई तथा धन्यवाद दिएका छन् । उनले यो सफलता सम्पूर्ण प्रहरी कर्मचारीको अथक मेहनत, कर्तव्यनिष्ठा, अनुशासन र उत्कृष्ट टोलीभावनाको परिणाम भएको बताए ।
एसपी काफ्लेले प्राप्त उपलब्धिले आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी र नतिजामुखी ढंगले काम गर्न थप प्रेरणा दिएको उल्लेख गरेका छन् । उनले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए ।
उनले आगामी महिनाहरूमा पनि यही उत्साह, समर्पण र व्यावसायिकतालाई निरन्तरता दिँदै उत्कृष्ट कार्यसम्पादन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।














