स्याङ्जा ।
स्याङ्जामा अटो दुर्घटना हुदाँ पाँच जना घाइते भएका छन् । आज दिउँसो साढे २ बजेको समयमा वालिङ नगरपालिका वडा नम्बर ६ एक्लेपिपल स्थित मिर्दि चापाकोटको भित्री सडकमा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
गण्डकी प्र०४–००१ ह ०५७४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट ३० मिटर तल खस्दा अटोमा सवार यात्रु र चालक गरी ५ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले बताएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईते हुनेमा स्याङजा वालिङ ६ साठ्ठीघरे बस्ने बर्ष २१ की सलिना नेपाली, उनको १८ महिनाको दिप्सन नेपाली, सोही ठाउँकी वर्ष २६ की सुमित्रा नेपाली, सोही ठाउँका बर्ष ५० को दुर्गा बहादुर गौतम र अटो चालक बर्ष २६ का सुमन बस्याल रहेका छन् ।
घाईते सलिनाको टाउको र अनुहारमा चोट लागेको र उनको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । उनको वच्चाको अनुहारमा चोट लागेको र उनको अवस्था मध्यम रहेको जनाइएको छ ।












