पोखरा ।
गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताईन् । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उनको भनाइ छ ।
प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताए । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उनको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताए ।
प्रदेशको समृद्धिका मुख्य आधारका रुपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उनको भनाइ छ । प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताईन् ।
उनले प्रदेश सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने बताईन् । बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएपनि सरकारले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजजागरी सिर्जना, नवप्रवर्तनलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उनको भनाई छ ।
प्रदेशसभा सदस्य सुशीला सिम्खडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताईन् । प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ ।
प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले बजेटको सफलता यस कार्यान्वयनमा निर्भर रहने बताए । उनले युवाहरुलाई कृषि पेशाप्रति आकर्षिक गर्ने गरी ‘रिटर्न टु भिलेज’लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताए ।
नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उनको भनाइ छ । सांसद दमयन्ती रुचालले बजेटमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै कडा आपत्ति जनाईन् । आफ्नो जीवनसाथी गुमाएको पीडा र द्वन्द्वको घाउ स्मरण गर्दा रोस्ट्रममै उनको गला अवरुद्ध भएको थियो ।
सरकारले ल्याएको १३८ बुँदे बजेट वक्तव्यमा ७० प्रतिशत सकारात्मक विषय भए पनि द्वन्द्वपीडितका लागि एउटा बुँदा पनि नहुनु दुःखद भएको रुचालले बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गण्डकी प्रदेशबाट मात्रै १ हजार ३ सय ८३ सहिद, १ सय २० बेपत्ता र २ सय १९ घाइते तथा अपाङ्गता भएका नागरिकको योगदान रहेको तथ्य उनले प्रस्तुत गरिन् ।
प्रदेशसभा सदस्य गणेशमान गुरुङ, श्यामराजा महत, भोजराज अर्याललगायतले बजेटमाथिको छलफलमा भाग लिएका थिए । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य राजकुमारी भुजेल, सरस्वती गुरुङ, सिताकुमारी सुन्दासलगायत समसामायिक विषयमा आफ्ना धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यानाकर्षण गराए । रासस













