पोखरा महानगरको नीति तथा कार्यक्रम

पोखरालाई पर्यटन, पूर्वाधार  र डिजिटल सुशासनको नमुना सहरका रूपमा विकास गरिने

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन, पूर्वाधार, हरित विकास र डिजिटल सुशासनको नमुना सहरका रूपमा विकास गर्ने बताएका छन् । पोखरा महानगरको १९औं नगरसभामा आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख आचार्यले पर्यटन राजधानी घोषणा र पोखरा भ्रमण वर्ष अभियानले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै स्थानीय अर्थतन्त्र चलायमान बनेको उल्लेख गर्दै आगामी दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि थप पहल गरिने जानकारी दिए ।

प्रमुख आचार्यले फेवाताललगायत प्राकृतिक सम्पदाको संरक्षण महानगरको प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले फेवातालको सीमां न सम्पन्न भइसकेको र ताल क्षेत्रको संरक्षण तथा मध्यवर्ती क्षेत्र विकासका कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने बताए। सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने अभियानलाई पनि थप प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ थियो ।

‘पेपरलेस, फेसलेस र क्यासलेस’ सार्वजनिक सेवा प्रवाहलाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रमुख आचार्यले महानगरका अधिकांश सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गरिने बताए । घरनक्सा पास, व्यक्तिगत घटना दर्ता, सिफारिस, राजस्व भुक्तानी तथा योजना व्यवस्थापनलगायतका सेवा अनलाइनमार्फत उपलब्ध गराउने गरी काम अघि बढाइएको उनको भनाइ छ।

शिक्षा क्षेत्रतर्फ विद्यालय शिक्षालाई प्रविधिमैत्री र रोजगारमुखी बनाइने नीति लिइएको प्रमुख आचार्यले बताए । उनका अनुसार विद्यालयमा स्मार्ट कक्षाकोठा, डिजिटल प्रयोगशाला र उद्योगसँग जोडिएको तालिम प्रणाली सञ्चालन गरिनेछ । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, अटोमेसन, विद्युतीय सवारी प्रविधि, सूचना प्रविधि, होटल व्यवस्थापन र नवीकरणीय ऊर्जासम्बन्धी आधुनिक शैक्षिक कार्यक्रम पनि क्रमशः लागू गरिनेछन् ।

महिलालाई प्राविधिक शिक्षामा जोड्न ‘वन वड वन वुमन टेक्निकल म्यानपावर’ कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै उनले प्रत्येक वडाबाट महिलालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारीसँग जोडिने व्यवस्था मिलाइने बताए ।

स्वास्थ्य क्षेत्रको सुधारलाई पनि महानगरले प्राथमिकतामा राखेको छ । प्रमुख आचार्यका अनुसार आधारभूत स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्थाको पुनःसंरचना र डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गरिनेछ। ‘स्वस्थ पोखरा’ अभियानअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार गरिनुका साथै विद्यालय नर्स कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालनलाई समेत निरन्तरता दिइनेछ ।

पूर्वाधार विकासतर्फ वडाहरू जोड्ने सडक कालोपत्रे र ढलान गर्ने, रणनीतिक सडक तथा पुल निर्माणलाई तीव्रता दिने र पोखरा रिङरोडको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने योजना रहेको प्रमुख आचार्यले बताए । आधुनिक बसपार्क, डिजिटल बस टर्मिनल, व्यवस्थित पार्किङ तथा साइकल रिङरोड निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको उनले जानकारी दिए ।

प्रमुख आचार्यले हरित विकास र दिगोपनलाई केन्द्रमा राखेर रिसाइकलिङ तथा अपसाइकलिङ कार्यक्रम, हरित रोजगारी सिर्जना, शान्तिवन वनस्पति उद्यान, रानीवन इको ट्रेल, फेवाताल सुधार र विपद् जोखिम न्यूनीकरण केन्द्रजस्ता दीर्घकालीन परियोजनालाई अघि बढाइने बताए ।

‘पर्यटन, वातावरण संरक्षण, डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र दिगो पूर्वाधार विकासमार्फत समुन्नत, व्यवस्थित र समृद्ध पोखरा निर्माण गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,’ प्रमुख आचार्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताए ।

  • ४ असार २०८३, बिहीबार २२:०६ प्रकाशित