काठमाडौं ।
सरकारले गैर आवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा दिने तयारी गरेको छ । यसका निम्ति अध्यागमनसम्बन्धी कानुनलाई संशोधन गरिँदैछ ।
गृह मन्त्रालयले तयार पारेको अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा ४ मा अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ ।
जसअन्तर्गत गैरआवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश छ । प्रस्ताविक विधेयकअनुसार सरकारले १७ प्रकारका भिसा जारी गर्नेछ ।
ती भिसामा कूटनीतिक भिसा, औपचारिक (अफिसियल) भिसा, पर्यटक भिसा, अन्तरिम (ट्रान्जिट) भिसा, अध्ययन, अध्यापन, अनुसन्धान तथा वैज्ञानिक भिसा,
कार्य भिसा, व्यावसायिक भिसा, पारिवारिक भिसा, प्रेस भिसा, अस्थायी भिसा, आवासीय भिसा, गैर आवासीय नेपाली भिसा, पर्वतारोहण भिसा, चलचित्र भिसा,
खेलकुद भिसा, मेडिकल भिसा, तोकिए बमोजिमका अन्य भिसा रहेको छ।
यसमै गैर आवासीय नेपाली भिसाबारे थप प्रावधान राखिएको छ । विधेयकको दफा ४ को उपदफा २ मा भनिएको छ, ‘नेपालमा बसोबास गर्न आउने देहायका व्यक्ति र निजको परिवारलाई दश वर्षसम्मको निःशुल्क गैर आवासीय नेपाली भिसा उपलब्ध हुनेछ ।’
प्रस्तावित प्रावधान अनुसार गैर आवासीय नेपाली नागरिकता प्राप्त वा गैरआवासीय परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकले गैर आवासीय नेपाली भिसा प्राप्त गर्न सक्नेछन् ।











