काठमाडौं।
नेकपा एमालेले निर्वाचनबाट नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम भएको टिप्पणी गरेको छ ।
पार्टीको विशेष अभियान ‘मिसन पार्टी जागरण २०८३’ को आौचित्य र कार्ययोजनाबारे जारी गरिएको आन्तरिक दस्ताबेजमा एमालेले रास्वपाको उदय ‘आकस्मिक र अस्वाभाविक’ घटनाको रूपमा व्याख्या गर्दै सो टिप्पणी गरेको हो ।
२०७४ को निर्वाचनपछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विघटन र नेकपा (एमाले) को विभाजनका कारण निराश भएको जनमत वैकल्पिक शक्तितर्फ आकर्षित हुँदै अहिलेको अवस्था आएको एमालेको विश्लेषण छ। दस्ताबेजमा भनिएको छ, ‘पपुलिजम, एनार्किजम र अवसरवादको जगमा आधारित वैकल्पिक शक्तिको उदयले नेपाली राजनीतिमा पारेको असरलाई रोक्न पार्टीले निर्वाचन लगत्तै विभिन्न अभियानहरू सञ्चालन गरेको थियो ।’
सर्कुलरमा २०८२ सालको आम निर्वाचनमा पार्टीले बेहोर्नु परेको परिणामलाई ‘अप्रत्याशित र अस्वाभाविक हार’ भनिएको छ । यसका कारण पार्टीका नेता तथा कार्यकर्ताहरूको मनोबल गिरेको र समर्थकहरू चिन्तित बनेको एमालेको स्वीकारोक्ति छ । सरकारको योजना, काम र परिणामबारे जनतामा सही सूचना प्रवाह हुन नसक्नु र पार्टी विरुद्ध फैलाइएका भ्रमको समयमै खण्डन गर्न नसक्दा निर्वाचनमा धक्का लागेको एमालेको दाबी छ ।
एमालेले दस्ताबेजमा लेखेको छ, ‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको भविष्य र नेपाल राष्ट्रको सार्वभौमिकता नै सङ्कटमा परेको अवस्था छ ।’
विद्यमान सङ्कट र चुनौतीको सामना गर्न एमालेले ‘मिसन पार्टी जागरण २०८३’ अभियान घोषणा गरेको छ । यस अभियानका मुख्य उद्देश्य पार्टी कार्यकर्तामा रहेको निराशा चिर्ने र जनतासँगको टुटेको सम्बन्ध पुनः स्थापित गर्ने रहेको एमालेको भनाइ छ ।











