संस्थापन पक्षले पठाएको सात बुँदे खाका प्रयाप्त छैन : देउवा समूह

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको सहमतिका लागि संस्थापन समूहले पठाएको ७ बुँदे खाका पर्याप्त नरहेको बताएको छ ।

समूहका नेता डा. प्रकाश शरण महतले आज बिहान आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै संस्थापनको सात बुँदे सहमतिको खाका आइपुगेको, तर त्यो सहमतिका लागि पर्याप्त नभएको बताए ।

१५औं महाधिवेशन स्वच्छ निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । त्यो संयन्त्र निर्माण गर्नका लागि संस्थापन पक्ष तयार नरहेकाले आशङ्का उब्जिएको उनको भनाइ छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति, विधान संशोधन समिति दुवै पक्षको सहमतिमा बनाउनुपर्ने उनको भनाइ छ ।

पार्टीका नेता कार्यकर्ताहरू प्रतिनिधि सभा निर्वाचनको नतिजा र अहिलेको पार्टीभित्रको विवादले गर्दा निराश रहेको भन्दै त्यसलाई चिर्न एकता गर्ने पहल कदमी संस्थापनले लिनुपर्ने उनको भनाइ छ । अहिलेसम्म संस्थापनबाट त्यो पहल भएको अनुभूति आफूले नगरेको डा. महतले बताए ।

 

  • २८ जेष्ठ २०८३, बिहीबार १०:४६ प्रकाशित