विराटनगर ।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा बृहत् एकता भेलाको तयारी गरेको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षधरले जेठ ३१ गतेका लागि विराटनरको होटल मनास्लु बुक गरेका छन् ।
डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रममा नेताहरू डा. शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदार, डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइरालालगायतका पूर्वसमितिमा बसेका केन्द्रीय सदस्यहरू र हाल समितिमा बसेका एक–दुई जना केन्द्रीय सदस्यहरूसहित सहभागी हुने कांग्रेस विराटनगरका सभापति दिपक चापागाईंले बताए ।
‘पार्टी एक बनाऔँ भन्ने उद्देश्यले भेला गर्न लागिएको हो,’ चापागाईंले भने, ‘दुवै पक्षलाई एकै ठाउँमा ल्याउने योजना अनुरुप नै हो यो ।’
यद्यपि यो कार्यक्रमबारे संस्थापन पक्षलाई भने जानकारी नभएको बताइएको छ । ‘हामीलाई यो कार्यक्रमबारे आधिकारिक जानकारी छैन,’ कांग्रेसका प्रदेश सभापति उद्धव थापाले भने, ‘कुनै औपचारिक च्यानलबाट मलाई जानकारी आएको छैन ।’
तर, विराटनगर महानगरसमितिका सभापति चापागाईंले भने प्रदेश समितिकै ब्यानरमा कार्यक्रम गर्न लागिएको बताए । ‘नेपाली कांग्रेसको कार्यक्रम गर्नलाई केन्द्रीय समितिको अनुमति लिइरहनु पर्दैन । प्रदेश कमिटीले गर्ने भएपछि त प्रदेश समितिले गरिहाल्छ,’ पार्टीको आधिकारिक लाइनबाटै कार्यक्रम गर्न लागिएको हो ? भन्ने प्रश्नमा चापागाईंले भने, ‘पालिकाले चाह्यो भने पनि केन्द्रीयस्तरका नेताहरूलाई बोलाएर पालिकाको ब्यानरमा गर्न सक्छ । त्यसको लागि अनुमति चाहिँदैन । पार्टी एक बनाउने कुरामा त कसैको अनुमति चाहिने कुरै भएन नि !’
कांग्रेस इतर पक्षका एक नेताले विराटनगरको भेलाबाट संस्थापन पक्षलाई विपक्षीहरू एकताबद्ध भएको सन्देश दिन लागिएको बताए । हालसम्मका भेला तथा बैठकहरूमा कांग्रेसको शेखर कोइराला, विजय गच्छदार, कृष्ण सिटौला र डा। शशांक कोइरालालगायतका नेताहरू एउटै मञ्चमा सहभागी भएका थिएनन् ।
उनका अनुसार सभापति गगन थापा पक्षधरले आफूहरूले उठाएको सदस्यताको पुनः नवीकरणको विषयमा एकलौटी अगाडि बढेर महाधिवेशनको बाटोमा लागेमा आफूहरू अर्को बाटो समात्ने दाबी पनि गरे । ‘पार्टी मिलाउन दबाब दिने उद्देश्य हो । मिल्दै मिलेन भने अर्को पार्टी बनाउने अभियान पनि हो,’ ती नेताले भने ।
नेपालमा जहानियाँ राणा शासन र निर्दलीय पञ्चायतविरुद्धको आन्दोलनको शङ्खघोष गर्ने नेपाली कांग्रेसको उद्गम थलो विराटनगर नै हो । त्यही भएर विराटनगरबाटै सभापति थापालाई सन्देश दिने तयारी गरेको इतर पक्षको दाबी छ ।












