राप्रपा पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

राप्रपाका केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवम् कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।

जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।

विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा लेखिएको छ ।स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहीता स्थापित गर्ने प्रयासहरू हुँदा नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

  • २१ जेष्ठ २०८३, बिहीबार १४:०५ प्रकाशित