काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (मंगलबार) भाजपा अध्यक्ष नितिन र विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक वार्ता गर्ने तय भएको छ । पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नयाँदिल्ली पुगेका उनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने तय भएको उच्च कूटनीतिक स्रोतले बताएको छ । भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नेछन् ।
भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको उनको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । सभापति लामिछानेको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख तथा सांसद दीपक बोहोरा तथा लामिछानेपत्नी निकिता पौडेल छन् ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा अध्यक्षको सचिवालय हेर्ने राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग इन्चार्ज विजय चौथाइवाले तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् । सिंह र चौथाइवालेले सभापति लामिछानेलाई स्वागत गर्दै ट्विटसमेत गरेका छन् ।












