अमर्यादित क्रियाकलाप गर्ने सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका छन् ।प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिए ।

सभामुख अर्यालले प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम समिति बनाएको र ७ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको सभाको बैठकमा बताए ।

‘१७ गतेको बैठकमा केही माननीय सदस्यहरू अव्यवस्था सृजना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन, भौतिक हानी एवं क्षति पुर्‍याउने कार्य गरेको ब्यहोरा सभामुखलाई बैठकपछि जानकारीमा आयो । आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्नेगरी प्रतिनिधि सभा सचिव प्रकाश अधिकारी संयोजकको समिति बनाएको छु,’ सभामुख अर्यालले भने ।

सभामुख अर्यालले प्रतिवेदन प्राप्त भएपछि ३३ को उपनियम ४ बमोजिम कारबाही अगाडि बढाउने जानकारी पनि गराए ।

३ सदस्यीय समितिमा संघीय संसद सचिवालयका संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य छन् ।

  • १८ जेष्ठ २०८३, सोमबार १७:०६ प्रकाशित