काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा।धवलशमशेर राणाले पार्टी त्यागेर नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गर्दै उनले राप्रपा छाड्ने बताएका हुन् । बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा डा. राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको उल्लेख गरेका छन् । उनले भने, ‘विरोधाभास र सैद्धान्तिक द्विविधाका बिच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो।’
उनले राप्रपाभित्रै रहेकाहरू कसैसँग व्यक्तिगत वैरभाव नरहेको समेत उल्लेख गरेका छन् । शुभचिन्तक र सहयात्रीहरूको सल्लाहबमोजिम आफूले आगामी बाटो तय गरेको उल्लेख गर्दै राणाले देश–विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझावका आधारमा यो कदम चालेको उनको भनाइ छ ।
उनले देशलाई माया गर्ने, समृद्धिको चाहना राख्ने राष्ट्रवादी र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।‘स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई आह्वान गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता र नेतृत्वको विषयलाई लिएर असन्तुष्टि थियो ।












