काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे ।
उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए ।
उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए ।
जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको भनाइ छ। उनले व्यवस्थापनका लागि केही समय लाग्ने बताए । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोज्न पनि उनले सांसदहरूलाई आग्रह गरे ।
‘उहाँहरू (सुकुमवास) को ज्यान जोखिममा थियो । ज्यान जोखिममा पर्नबाट सरकारले जोगाउने काम गरेको हो । जहाँसम्म जग्गा व्यवस्थापन गर्ने कुरा छ, भूमिसम्बन्धी समिति पनि बनेको छ । हाम्रो मन्त्रालयले काम गरिरहेको छ,’ प्रधानमन्त्री शाहले भने, ‘अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र काम गर्छौं भन्नुभएको छ । जति समय लाग्छ, त्यो लाग्छ । हतार गरेर हुँदैन । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमै नखोजौं । केही समय लाग्छ ।’












