काठमाडौं ।
नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । कुल जडित विद्युत् क्षमता ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।
यस वर्ष भारततर्फ २ हजार ९ सय १८ गिगावाट घण्टा बिजुली निर्यात भएको छ । आर्थिक सर्वेक्षण अनुसार यो फागुन २०८२ सम्मको तथ्यांक हो ।जडित क्षमतामध्ये जलविद्युत् जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट, सौर्य ऊर्जा १ सय ४२ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा उत्पादित विद्युत् १०६.२४ मेगावाट पुगेको छ ।
त्यस्तै तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सहउत्पादन प्रविधि मार्फत उत्पादित विद्युत् ६ मेगावाट उत्पादन भएको छ ।
यस अवधिमा नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् आयोजनाबाट ६६१.५७ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत ७४८.४ मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट २ हजार ५ सय ८७ मेगावाट गरी २०८२ फागुनसम्म ३ हजार ९ सय ९७ मेगावाट राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
वैकल्पिक ऊर्जासहित ९९.१ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । सामुदायिक उपभोक्ता समेत विद्युत् उपयोग गर्ने ग्राहक संख्या २०८२ असारसम्म ५७ लाख ८ हजार रहेकोमा २०८२ फागुनसम्म ५८ लाख ५९ हजार पुगेको छ ।


















