विषालु च्याउ खाँदा पाल्पामा एक महिनामै ३ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको ज्यान गएको छ । च्याउ खाएर बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति ज्यान गएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो ।

गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर लगिएकोमा पुन : स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेजमा उपचाररत थिए । उनको उपचारको क्रममा मृत्यु भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले पनि तानसेन नगरभित्र ११ जना च्याउ खाएर बिरामी छन्, जसमध्ये एक जना गम्भीर छ । अन्यको अवस्था सामान्य छ ।

उता माथागढीको कसेनीका ४ जना, निस्दीका २ जना पनि बिरामी रहेका छन् । यस्तै रम्भा गाउँपालिकाका तीन जना पनि च्याउ सेवन गरी बिरामी परेकोमा दुई जनाको गत मंगलबार र बुधबार ज्यान गएको छ । एक जना उपचाररत छन् ।

बिरामीमध्ये केहीको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको छ । प्रि–मनसुनको समयमा उम्रिएका च्याउहरू विषालु हुने हुँदा यस्ता च्याउको सेवनबाट बिरामी र ज्यान गुमाउने दर बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा विषालु च्याउ सेवन गर्ने र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालय र स्थानीयहहरुले सचेतनाका कार्यक्रम गर्दै आएका छन् । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि, कर्मचारीले विभिन्न तरिका तथा सामाजिक सञ्जालमार्फत पनि सचेतनाका कार्यहरु गर्दै आएको जनाएका छन् ।

  • ११ जेष्ठ २०८३, सोमबार ११:११ प्रकाशित