काठमाडौं ।
विपक्षी चार दलले आगामी संसद बैठकमा सरकारको सशक्त विरोध गर्ने तयारी गरेका छन् ।
सरकारको गलत कार्यशैलीविरुद्ध विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन् ।
आज सिंहदरबारस्थित एमाले संसदीय दलाको कार्यालयमा भएको छलफल उक्त निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।
कांग्रेसकी बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीबिच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल नेकपाका युवराज दुलालले जानकारी दिए ।
एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको बताए ।
संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको महरको भनाइ छ ।
प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षीले विरोध गर्दै आएका छन्।












