पोखरा ।
पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र बनेका संरचना हटाउन डोजर चलाएको छ । फिर्के खोलाका विभिन्न तीनवटा स्थानबाट एकसाथ आइतबार विहानबाट डोजर चलाइएको हो ।
सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, सचिव तथा कर्मचारी सहित महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा खोलाघर भित्रका संरचना भत्काउन सुरु गरिएको हो ।
डोजर चलाउने कार्यक्रम सुभारम्भ गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले अब खोलालाई प्राकृतिक रूपमा बग्न दिने जिम्मेवारी हामी सबैको साझा दायित्व भएको बताएका छन् ।
उनले छातिमा हात राखेर हामीले सहि गरेका छौं वा छैनौं भनेर सोच्न समेत आग्रह गरेका छन् । हाम्रो सानो लापरवाहीले भविष्यमा ठूलो प्राकृतिक विपत्ति निम्तिन सक्ने तर्फ सचेत बनाउँदै उनले समयमै सचेत बन्न र खोलाको संरक्षण गर्दैै भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
यो अभियान कसैको विरोध नभएको प्रष्ट पार्दै उनले ‘प्रकृतिको संरक्षण र सुरक्षित भविष्यको लागि गरिएको साझा प्रयास हो’ भनेका छन् ।
अभियानअन्तर्गत अधेरीकुना केन्द्र (बिन्ध्यवासिनीभन्दा पश्चिम) मा वडा नं.१, २, ३, १६, १८, १९, २०, २४, २५ र ३० लाई समेटिएको छ । यस केन्द्रमा आर्थिक विकास महाशाखा, राजस्व महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र र नापी शाखा परिचालन गरेर डोजर चलाइएको छ।
त्यसैगरी बुढानीलकण्ठ मन्दिर (फिर्के पुल) केन्द्रअन्तर्गत वडा नं. ४, ५, ९, १०, ११, १२, १३, २६, २८, ३१ र ३३ समावेश गरिएको छ । यहाँ पूर्वाधार महाशाखा, शिक्षा महाशाखा, वित्त महाशाखा, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य प्रवर्द्धन केन्द्र, सिसुवा अस्पताल, कानुन शाखा तथा नापी शाखा परिचालन भएको छ ।
जिरो किलोमिटर केन्द्र (पृथ्वी राजमार्ग बस सञ्चालक समिति अगाडि) अन्तर्गत वडा नं. ६, ७, ८, १४, १५, १७, २१, २२, २३, २७, २९ र ३२ लाई राखिएको छ । यस केन्द्रमा सामाजिक विकास महाशाखा, सहरी विकास महाशाखा, गण्डकी बहुप्राविधिक, स्वास्थ्य प्रवर्द्धन केन्द्र, नापी शाखा, विपद् शाखा तथा सहकारी शाखा परिचालन गरिने गरिएको छ ।
पोखरा महानगरले गत ४ वैशाखमा जारी गरेको सूचनालाई समेत आधार मान्दै यो अन्तिम सार्वजनिक सूचना भन्दै ९ जेठ २०८३ खोलाघर भित्रका सम्पूर्ण संरचना सम्बन्धित आँफैले हटाउन भनेको थियो ।
पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं। २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।
खोलाको वास्तविक सीमाङ्कन छुट्ट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी जम्मा ५८८ वटा सीमा स्तम्भ पनि गाडेको छ । खोलामाथि २५ वटा पुल तथा कल्भर्ट निर्माण भएका छन् ।
खोला बग्ने वास्तविक जग्गामै १६० वटा संरचना अवैध रूपमा निर्माण भएका छन् । कतिपय संरचना त पूर्ण रूपमा खोलाघरमै बनेका छन् भने कतिपयले पिलर नै खोलामा गाडेर उठाएका छन् । समितिको रिपोर्ट अनुसार, खोलाघरभित्र व्यक्तिगत अस्थायी संरचना ९७ वटा छ । बाँकी स्थायी संरचना छन् । त्यसमा व्यक्तिगत ३५ वटा, संस्थागत र सरकारी १८ वटा संरचना छन् । संस्थागत थप १० वटा अस्थायी संरचना पनि निर्माण भएको पाइएको छ ।
नागरिक अभियान्ता रामबहादुर पौडेलले अब खोलघर भित्रका संचना भत्काइएसंगै भूमिहिन र सुकुम्बासीका लागि व्यवस्थापन गरेर तत्काल मापदण्ड कायम गराउनुपर्ने बताए । उनले महानगर, केन्द्र सरकार र सरोकारवाला सबैको सहकार्यमा फिर्केखोला घर भत्काउने ठाउँमा आइपुगिएको भन्दै यसको स्वच्छता तर्फ जोड दिनुपर्ने धारणा राखे ।
फिर्केखोला किनारमा आफ्नो लालपुर्जामा बनेका घर तथा जग्गाधनीहरुले खोलाघरमा बनेका संरचना भत्काउनु स्वागत योग्य रहेको भएपनि अब बाँकी लालपुर्जा भएका जग्गा र घरहरुलाई क्षति पुग्न दिन नहुने माग माग गरेका छन् । स्थानीय अगुवा ढाकमोहन पराजुली (कृष्ण) ले भत्काइसकेपछि अरु घर र जमिनमा क्षति हुन नदिनका लागि महानगरले तत्काल काम गर्नुपर्ने माग राखे । स्थानीय लोकनाथ भण्डारीले पनि भत्काउनु स्वागतयोग्य भएपनि अब निर्माण गर्दा ख्याल गर्नुपर्नेमा जोड दिए ।












