काठमाडौं ।
नेपाली सेनामा भर्ना हुनको लागी दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तको लागि दिइने ३० दिने सूचनाको समय घटाएर २१ दिन कायम गरेका हो ।
सैनिक सेवा नियमावली (छैटौँ संशोधन)२०८३ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले परिवर्तित परिस्थितिमा सूचनाको माध्यम परिवर्तन भएको भन्दै दरखास्त दिने समय घटाएको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेको सैनिक नियमावली राजपत्रमा प्रकाशित हुने चरणमा छ । सरकारले सेनाको भर्ना छनोट पुरा गरेका वैकल्पिक उम्मेदवारहरूको सूची बढाउने निर्णय गरेको छ । त्यस्तै, सैन्य पदको भर्ना छनोट गर्दा देशभरका युनिटमा एकीकृत योग्यता क्रम बनाउने गरी नियमावली संशोधन गरिएको छ । उदाहरणको लागी लुम्बिनीमा भर्ना हुने सैन्य र कर्णालीमा भर्ना हुने सैन्यहरूको योग्यताक्रम समान हुनेछ ।
जोखिमपूर्ण काम गर्ने सैनिक कर्मचारीलाई ‘जोखिम भत्ता’ दिने गरी सैनिक नियमावली संशोधन गरिएको रक्षा मन्त्रालयका प्रवक्ता (सहसचिव) मनोज कुमार आचार्यले बताए । उनले भने, ‘स्वास्थ्य प्रयोगशाला र रेडियो विकिरणयुक्त ठाउँमा काम गर्ने सैनिक कर्मचारीलाई जोखिम भत्ता दिने व्यवस्था नियमावलीमा थप गरिएको छ ।’
सहसचिव आचार्यका अनुसार शान्ति सेना, विपद् उद्धार, राष्ट्रिय निकुञ्ज, ल्याब र बारुदखानामा काम गर्नेहरूले जोखिम भत्ता पाउनेछन् । त्यस्तै, द्वन्द्वमा अङ्गभङ्ग र घाइते भएकाहरूलाई सुविधा दिने प्रावधान थप गरिएको छ । संशोधन गरिएको नियमावली अनुसार कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई मरणोपरान्त सुविधा दिइने छ ।
अध्ययन बिदा र तालिममा जाँदा सैनिक कर्मचारीहरूले फर्केर पुनः सेवा गर्नेछु भनेर ‘कबुलियत’ गर्नुपर्ने भएको छ । विदेश अध्ययनमा गएर धेरै सैनिक नफर्केको भेटिएपछि त्यस्तो प्रावधान राखिएको रक्षा मन्त्रालयका अधिकृतहरू बताउँछन् ।
मन्त्रिपरिषद्ले सेनाको बढुवा समितिको कम्पोजिसन परिवर्तन गरेको छ । पद अनुसार सिफारिस समिति फेरबदल गरिएको बताइएको छ ।
प्रमुख सेनानी देखी सहायकरथी सम्मको बढुवा सिफारिस गर्दा विभागीय प्रमुखको रूपमा नीति तथा योजना विभागका प्रमुख अध्यक्ष र सैनिक सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।












