यही कार्यकालमा जातीय विभेद अन्त्य गर्न सरकारलाई सांसद विश्वकर्माको चुनौती

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपा सांसद रिमा विश्वकर्माले दलितलाई हेर्ने समाजको दोषी चश्मा खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने बताएकी छिन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती समेत दिइन् ।जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझैं, नदेखेझैं गर्ने हाम्रो समाजको दोषी चश्मालाई खोल्ने कुरामा सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘अझै पनि जातीय हिंसालाई दलितको मात्रै मुद्दा ठान्ने, नसुनेझै, नदेखेझै गर्ने हाम्रो समाजको दोषी चश्मा अव खोल्ने बेला आएको छ । सदियौंदेखि पिल्सिएका दलित समुदायलाई क्षमायाचना त्यतिबेला मात्रै स्वीकार्य हुन्छ, जब त्यो ठोस क्षतिपूर्तिसहित आउँछ,’ उनले भनिन्, ‘सतिप्रथा र कमलरी प्रथा अन्त्य गरेको यो समाजमा म हाम्रो सरकारलाई आफ्नै कार्यकालमा छुवाछुत र जातीय विभेदको अन्त्य गर्न चुनौती दिन चाहन्छु ।’

सांसद विश्वकर्माले दलित समुदायमाथि क्षमायाचना गर्नुअघि उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।

  • ६ जेष्ठ २०८३, बुधबार १६:३९ प्रकाशित