रास्वपाभित्र कुनै गुटबन्दी छैन : गणेश पराजुली

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन्।

सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए। संसद्को कामकारबाही र बजेट छलफलका सम्बन्धमा बोल्दै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि यो अर्थपूर्ण रहेको उल्लेख गरे।

प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उनको भनाइ छ। प्रधानमन्त्री संसद्मा अनुपस्थित भएको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी र टेबल गर्नुपर्ने विषयहरूमा सक्रियता देखाइरहेको बताए।

सरकारको १०० दिने कार्य योजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू सार्वजनिक कार्यक्रम र रिबन काट्ने काममा भन्दा नतिजामुखी काममा केन्द्रित भएको दाबी गरे।

पार्टीका नेताहरूमाथि लागेका आरोप र नैतिकताका विषयमा स्पष्ट पार्दै उपनेता पराजुलीले पूर्व गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति बनेको जानकारी दिए।

मोरङ क्षेत्र नम्बर २ का सांसद र अन्य सदस्यहरूका विरुद्ध लागेका आरोपहरू आधारहीन र चरित्र हत्या गर्ने उद्देश्यले आएको भन्दै उनले रास्वपा विधि र प्रक्रियामा पूर्ण विश्वास गर्ने पार्टी भएको बताए।

  • ६ जेष्ठ २०८३, बुधबार १६:२० प्रकाशित