सुर्खेत ।
हुम्लाको नेप्का भन्ने गाउँमा गएराति बाढीका कारण विद्यालयदेखि गोठहरू र भेडाबाख्रा पुरिएको विवरण आएको छ ।
चंखेली गाउँपालिका—५ मा पर्ने उक्त नेप्का गाउँमा गएराति परेको भीषण वर्षाका कारण ठुलो धनमालको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर खड्काले गएराति पौने ११ बजेतिर भारी वर्षाका कारण बाढी आएको बताए ।
साथै, प्रारम्भिक जानकारी अनुसार १–२ वटा घरमा पनि क्षति पुगेको उनले बताए ।उनका अनुसार, बुधबार बिहान ५ बजे नै प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । सदरमुकामबाट ५ घण्टा गाडीको यात्रा र त्यसपछि ६ घण्टाको पैदल दूरीमा रहेको नेप्का पुग्न प्रहरीलाई समय लाग्ने भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।
चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले ४ वटासम्म गोठहरू र ६० भन्दा बढी भेडाबख्रा पुरिएको बताए । साथै, एउटा विद्यालयको भवन क्षतिग्रस्त भएको छ ।
यद्यपि घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी रहेको उनले बताए ।


















