काठमाडौं।
परराष्ट्र मन्त्रालयले इरानी सेनाको कब्जामा परेका नेपाली नागरिक अमृत झाको मुद्दा स्थानीय अदालतमा चलिरहेको जानकारी दिएको छ । यसअघि मन्त्रालयले झाको रिहाइ भएको जनाएको थियो । तर उक्त भनाइप्रति मन्त्रालयले माफी मागेको हो ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी झाको एक्सपोर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने तयारी गरिएको पनि जनाएको छ ।
‘इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ’, परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ ।’

















