कार्यविभाजन गर्न गुण्डुमा एमाले बैठक सुरु, केन्द्रीय कमिटी बोलाउन माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो ।

फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा औपचारिक रूपमा पहिलो पटक बस्न लागेको बैठकले नेताहरूको कार्य विभाजन गर्ने मुख्य एजेन्डा रहेको बताइएको छ । त्यसबाहेक नेताहरूको वरीयता निर्धारण र चुनावी समीक्षा पनि बैठकको एजेन्डा बन्न सक्ने नेताहरूको भनाइ छ ।

तर बैठक सुरु हुनुअघि छलफलका एजेन्डाबारे सदस्यहरूलाई कुनै जानकारी गराइएको छैन । ‘एजेन्डा जानकारी गराइएको छैन, बैठकमै थाहा होला’, एक सचिवालय सदस्य भन्छन्, ‘कार्य विभाजन हुन्छ भन्ने सुनिएको छ ।’

गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले अहिलेसम्म नेताहरुको कार्य विभाजन गरेको छैन । त्यस्तै, स्थायी कमिटी, पोलिटब्युरो लगायतका पार्टी कमिटी र विभागहरू समेत बनाएको छैन ।

एमाले सचिव पदमा अर्याल अध्यक्षको स्वास्थ्य अवस्थाका कारण सोमबारको बैठकमा कार्यविभाजन सम्बन्धी छलफल गरेर टुङ्गिन सक्छ । फागुन २१ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शोकमा परेका थिए भने त्यसपछि गिरफ्तार । गिरफ्तारीबाट छुटे लगत्तै पित्तथैलीको शल्यक्रिया गरेर अस्पताल बसेका थिए । जसका कारण एमालेको बैठक बस्न समय लागेको नेताहरूले बताउँदै आएका छन् ।

यसैबिच एमाले नेता झपटबहादुर रावलले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न भएको अडाइ महिना बित्दा समेत पार्टी पराजयको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका आम नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशङ्का पैदा गरेको रावलको भनाइ छ ।

इतिहासकै नराम्रो पराजय भोगेपछि उत्पन्न भएको सन्नाटाले सिङ्गो पार्टी पङ्क्ति निःशब्द रहेको उल्लेख गर्दै रावलले एमाले सचिवालय बैठकमा छलफल गर्नुपर्ने चारवटा विषय सार्वजनिक गरेका छन् । रावलले सचिवालय बैठकमार्फत चुनावी पराजयको निर्मम समीक्षा, नीति र नेतृत्वमा पार्टी पुनर्गठन, नेतृत्वको जबाफदेहिता र नैतिक जिम्मेवारी तथा केन्द्रीय कमिटी बैठकको तत्काल घोषणा हुनुपर्ने बताएका हुन् ।

  • ४ जेष्ठ २०८३, सोमबार १४:१३ प्रकाशित