काठमाडौं ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाएका छन् । जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्रलाई पठाएका हुन् ।
वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनिर्णीत भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम सारेका हुन् ।
मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा जसपा नेपालमा फरक फरक मत रहेको छ । केही सांसदले विश्वासको मत दिने, केहीले नदिने भएपछि विवादका कारण मुख्यमन्त्रीले कार्यक्रम सार्न सभामुख रामअषिश यादवलाई पत्र पठाएको स्रोतले जनाएको छ ।
आफुहरुको पार्टीको कारण मात्र नभई कांग्रेसकै केही नेताले फ्लोर क्रस गर्ने तयारी गरेको सुइँको पाएपछि मुख्यमन्त्रीले मिति सारेको जसपा नेपालले बताएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम अगाडि बढाएको भए जसपा नेपाल कुनै न कुनै निर्णय लिन बाध्य हुन्थ्यो तर कांग्रेस भित्रै विवाद भएपछि यस्तो परिस्थिति उत्पन्न भएको हो ।
जसपा नेपालको बैठक अझै जारी रहेको छ । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि सो पार्टीका दुई जना मन्त्री महेश यादव र वसन्त कुशवाहा अझै सरकारमै छन् । यद्यपि, जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले विश्वासको मतको पक्षमा मतदान नगर्न आफ्ना सांसदहरूमाथि ह्विप जारी गरेका छन् ।
















