पोखरा ।
कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उत्तम पौडेलले पोखराका यातायात व्यवसायीसंग व्यवसायीका समस्याका बारेमा छलफल गरेका छन् । पोखरा यातायात प्रालिको कार्यालय पुगेर उनले व्यवसायीका समस्या र समाधानका उपाएका विषयमा छलफल गरेका हुन् । बैज्ञानिक भाडा समायोजन नहुँदा यात्रु, चालक र सवारी धनीको बिचमा दूरी बढेको बताए ।
उनले सरकारले यातायात प्राधिकरण गठन गरेर भएपनि यातायात क्षेत्रका समस्याको सम्बोधन हुनुपर्ने धारणा राखे । आफूहरु आएको धेरै समय नभएको भन्दै उनले विस्तारै समस्या समाधान हुने अपेक्षा प्रकट गरे । यातायतका साधनमा २० वर्षे नीतिको बारेमा बोल्दै उनले व्यवसायीपनि जिम्मेबार हुनुपर्ने बताए ।
पोखरामा उड्ने सवारीसाधन २० वर्ष नभई ५० वर्ष पुराना जस्तो भएको टिप्पणी गरे । समयमा सवारीको जाँचपास र मर्मतसंहार गरे सवारीले यसरी धुँवा नफाल्ने उनको भनाई थियो । उनले व्यवसायीलाई चालक र सहचालकको परिचय खुल्ने पोसाक र सम्पर्क नम्बर यात्रुले देख्नेगरी बसमा राख्ने व्यवस्था गर्न सके उपयुक्त हुने बताए । यात्रुले चालक र सहचालकलाई सहज रुपमा चिन्नुपर्नेमा उनको जोड थियो ।
भेटघाटका अबसरमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्रबहादुर केसीले दुईपांग्रे इनड्राइभमा सवारी चलाउनेको छुट्टै पहिचान हुने व्यवस्था गर्नुपर्ने बताए । आफूहरुइनड्राइभको विरोधी नभएको तर, मर्यादित हुनुपर्नेमा उनले जोड दिए । सचिव केसीले सार्वजनिक सवारीसाधनको आयु २० वर्ष तोकेपछि त्यसको विस्थापन गर्दा भन्सार छुटसहितको व्यवस्था गरे स्वरोजगार मजदुरले राहत पाउने धारणा राखे । गण्डकी सरकारले भाडा समायोजन नगर्दा व्यवसायी धरासायी भएको उनले सुनाए । पोखराको बसपार्कको अवस्था र सुकुमबासी समस्या र व्यवसायीको लगानी सुरक्षाको विषयमा संसदमा जोडदार आवाज उठाउन उनले आग्रह गरे ।

पोखरा यातायात प्रालीका अध्यक्ष देउप्रसाद गुरुङले निर्वाचनका बेला समस्या समाधान गर्न अस्वासन दिने तर, निर्वाचन पस्चात हराउने प्रबृतिलाई त्यागेर प्रतिवद्धता अनुरुप व्यवसायीका समस्या सुन्न आएको प्रति सांसद पौडेल प्रति आभार प्रकट गरे । उनले यातायात व्यवसायीका । समस्याका बारेमा संसदमा सशक्तरुपमा आवाज उठाउन समेत सांसद पौडेललाई आग्रह गरे ।
पोखरा यातायात प्रालिका प्रबन्धक देवी कुइँकेलले नेपालमा ईभी गाडी अन्धधुन्द भित्र्याइएको चर्चा गर्दै कतै नेपाल भोलि ब्याट्रीको डम्पिङसाइड त बन्ने होइन भन्ने चिन्ता प्रकट गरे । उनले सरकारले सहिरुपमा यातायातका साधनको आयातको नीति बनाउनुपर्नेमा जोड दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले समग्र यातातायात क्षेत्रमा देखिएका समस्याको बारेमा अबगत गराउँदै भारतीय गाडीहरुलाई जुनसुकै ठाउँमा पुग्न दिन नहुने बताए । भारतीय सवारीसाधन हिमाली क्षेत्रसम्म सरर पुग्दा नेपाली व्यवसायीका सवारीसाधन थन्क्याउने अवस्था रहेको उनले टिप्पणी गरे । सवारी चालक अनुमति पत्र लिनेवित्तिकै सवारी चलाउने अवस्थाको अन्त्य गर्दै सवारी चालकलाई राम्रो प्रशिक्षण दिएर सक्षम बनाएर मात्र सडकमा सवारी गुडाउन दिनुपर्नेमा उनले जोड दिए ।
पोखरेली ट्याक्सी सेवा प्रालिका उपाध्यक्ष पूर्णबहादुर गुरुङले दुइपांग्रे राइड सेरिङको नियमन गर्न नपर्ने हो भन्दै प्रश्न गरे । कुनै नियम लागु गर्दा त्यसको नकारात्मक पक्षलाई पनि हेरिनुपर्नेमा जोड दिए । नियमन र अनुगमन गर्न नसक्ने तर, नियममात्र ल्याएर अलपत्र पार्न नहुनेमा उनको जोड थियो ।













