पोखरा ।
पोखरामा सुकुम्बासीले आज वृहत प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध सुकुम्वासीले आज प्रदर्शन गरेका हु्न् ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको आह्वानमा पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले ३५ दिने सूचना खारेज गर्न माग गर्दै सडकमा विरोध प्रदर्शन गरेका हुन् । यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो ।
उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र समेत बुझाएका छन् । बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ कुनै पनि हालतमा खाली नगर्ने चेतावनी दिएका छन् ।












