पोखरा बसपार्कका सुकुमबासीले गरे आन्दोलनको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा बसपार्कका सुकुम्बासीले वैकल्पिक व्यवस्था नगरी आफूहरुलाई हटाउन खोजे मान्य नहुने बताएका छन् । काठमाडौंका सुकुमबासी बस्तीमा डोजर चलेपछि हालै गठन भएको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष  जिल्ला समिति कास्कीले आईतबार पोखरामा पत्रकार सम्मेलन मार्फत उनीहरुले यस्तो बताएका हुन् । सरकारले वैकल्पिक व्यवस्था गरेको खण्डमा बसिरहेको ठाउँ छाढ्न आफूहरु तयार रहेको उनीहरुको भनाई छ । तर वैकल्पिक व्यवस्था नभएसम्म भने कुनै पनि हालतमा ठाउँ खाली नगर्ने उनीहरुले बताए ।

पोखरा महानगरपालिकाले सार्वजनिक जमिन अतिक्रमण गरेर बसेकाहरुलाई ३५ दिने सूचना निकालेर खाली गर्न भनेको छ । ६ जेठमा महानगरले निकालेको सूचनाको मिति पुग्छ । महानगरले निकालेको सूचना र संघीय राजधानीमा चलेको डोजरले पोखरा बसपार्क क्षेत्रमा बसेका सुकुमबासीहरु त्रसित देखिएका छन् । छाडेर हिंड्दा वैकल्पिक व्यवस्था नभएको, नछाड्दा डोजरले भत्काए कहाँ जाने भन्ने चिन्ता रहेको उनीहरु बताउँछन् ।

पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जमिन अधिग्रहण गरिएको थियो । सो जग्गामा पछि सुकुमबासीहरु आएर बसेका थिए । पोखरा महानगरपालिका वडा नम्बर–९ भित्र कुनै पनि ठाउँमा वैकल्पिक व्यवस्था गरे आफूहरु ठाउँ खाली गर्न तयार रहेको समितिका अध्यक्ष प्रेम गुरुङले बताए ।

समितिका सल्लाहकार ओमबहादुर पौडेलले भूमिहीन तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नु राज्यको दायित्व भएको बताए । तर राज्य गैरजिम्मेवार बनेर डोजर आतंक सिर्जना गर्दै भुमिहीन तथा सुकुम्बासीलाई मर्न बाध्य बनाएको उनको आरोप छ ।

सुकुम्बासी तथा मजदुर नेता अर्जुन मल्लले वैकल्पिक व्यवस्था गरेर समस्याको समाधान खोज्नुपर्ने बताए । अन्यथा आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाई छ ।

आईतबार पत्रकार सम्मेलन गरेको संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ । सहिदचोकमा भेला भएर प्रमुख जिल्ला अधिकारीको पुगेर ज्ञापन पत्र बुझाउने र त्यसपछि र्यालीसहित रत्नचोक, सिर्जनाचोक, पृथ्वीचोकहुँदै नयाबजारस्थित पोखरा महानगर  कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाईने संघर्ष समितिका संयोजक गुरुङले जानकारी दिए । त्यसपछि बैठक बसेर थप निर्णय गर्ने उनले बताए । संघर्ष समितिका सल्लाहकार ओमबहादुर पौडेलले भने आन्दोलन कडा गर्ने चेतावनी दिए ।

  • २० बैशाख २०८३, आईतवार १९:४३ प्रकाशित