काठमाडौं ।
रोल्पाको जलजलामा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान अझै खुलेको छैन । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर २० जनाको ज्यान गुमेको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
प्रहरी निरीक्षक नेपालीका अनुसार ज्यान गुमाउने मध्ये ४ पुरुष १२ महिला र ४ बालक रहेको यकिन भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक नेपालीका अनुसार अप्ठेरो ठाउँ भएकाले शव निकाल्न समय लागेको हो ।
‘जिप सडकबाट झन्डै ८ सय मिटर तल खसेको छ । खोंचमा भएकाले सजिलै शव निकाल्ने अवस्था छैन ।अहिले सुरक्षाकर्मीहरूले बाटो बनाउँदै हुनुहुन्छ । त्यसपछि डोरीको सहायताले शव निकालिनेछ,’ नेपालीले भने । उनका अनुसार दुर्घटनामा परेको जिपको अघिपछि रहेका जिपमा त्यही गाउँका अरु स्थानीय भए पनि शव बाटोमा निकाल्न नसकेकाले पहिचान हुन नसकेको हो ।













