पोखरा ।
पोखराका महानगरका प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासी हतोत्साहित हुन नपर्ने बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिदै उनले ‘सुकुम्बासी बस्तीमा रहेका वास्तविक सुकुम्बासी परिवारलाई उचित रूपमा व्यवस्थापन गरिनेछ । कसैले पनि हतोत्साहित हुनुपर्ने अवस्था छैन’ उल्लेख गरेका छन् ।
उनले खोला/नदी किनार तथा अन्य जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने महानरको नीति रहेको बताए । खोलाघर, ताल किनारजस्ता संवेदनशील तथा सरकारी पुनर्निर्माणरनिर्माणका लागि तोकिएका स्थानमा बसोबास गरिरहेका वास्तविक सुकुम्बासी परिवारलाई अन्यत्र स्थानान्तरण गरिने उनले प्रष्ट्याएका छन् ।
उनले सुकुम्बासीको नाम र बहानामा अन्य स्वार्थ पूरा गर्ने कार्य नगर्न समेत अनुरोध गरेका छन् । पोखरा बसपार्कभित्रका सबै परिवारको वास्तविक पहिचान भएपछि उचित व्यवस्थापन गरिने हुँदा हुलमुलमा स्वार्थसिद्ध गर्ने तथा अनावश्यक राजनीतिक नारा लगाई विषयान्तर गर्ने कार्य नगर्न/नगराउन उनले अनुरोध गरेका छन् ।
महानगर प्रमुख आचार्यले पोखरा महानगरपालिकाले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका १९,८५६ परिवारलाई निस्सा वितरण गरिसकेको जानकारी दिँदै पहिलो चरणमा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित करिब ९ हजार परिवारलाई जोखिमरहित क्षेत्रमा (करिब ४ आना) जग्गा उपलब्ध गराई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकोमा अहिले स्थगित भएको बताए । भूमि आयोग क्रियाशील हुनासाथ यो प्रक्रिया पुनः अगाडि बढाइने उनले विश्वास दिलाएका छन् ।
प्रमुख आचार्यले विभिन्न सुकुम्बासी बस्तीहरूमा निराशा फैलाउने तथा हतोत्साहित गर्ने, महानगरपालिकाले वितरण गरेको निस्सालाई ‘सेतो पुर्जा’ भन्दै किनबेच गर्ने, सुकुम्बासी बस्तीमा बनेका आवास युनिटहरू बेचबिखन गर्ने, एकभन्दा बढी आवास युनिट कब्जा गरी मोटो रकममा भाडा लगाउनेजस्ता गतिविधिहरू सम्बन्धी समाचारप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।













