बाढी र पहिरोका कारण देशका यी राजमार्ग अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

त्यसैगरी, गण्डकी प्रदेशको लमजुङस्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा ठप्प छ । मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण सवारी साधन चल्न सक्ने अवस्था छैन ।

केही स्थानमा भने अवरोध हटाएर सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित भएको मध्यपहाडी लोकमार्ग अहिले एकतर्फी रूपमा सुचारु भएको छ ।

यस्तै, गण्डकी प्रदेशकै म्याग्दीस्थित बेनी–जोमसोम सडकखण्ड पनि एकतर्फी सञ्चालनमा छ । अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ ।

  • १७ बैशाख २०८३, बिहीबार ११:१२ प्रकाशित