पर्वतको गण्डकी गोपाल गौशालामा पूर्वाधार थप

केन्द्रभाग मिडिया

default

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् ।

गौशालालाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्घीय सरकार र स्थानीय जलजला गाउँपालिकाको करिब रु साढे चार करोड बराबरको संयुक्त लगानीमा संरचना निर्माण गरिएका हुन् । गाउँपालिका र सङ्घीय सरकारको ५० र५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/ ८१ मा विनियोजित रु एक करोड २५ लाख ८५ हजार २३२ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण गरिएका थिए । आव २०८१ /८२ मा सङ्घीय सरकारको करिब रु तीन करोड समपूरक अनुदानमा आश्रमस्थल, सभाहल, थप ध्यानकुटी र मन्दिरलगायत संरचना निर्माण गरिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले जानकारी दिए ।

योजना कार्यान्वयनका लागि सुनामी एसएण्डएस जेभीसँग विसं २०८१ पुस ४ गते रु दुई करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । यही असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । यहाँ करिब चार सय जना अटाउने सभाहल, मन्दिर, चारवटा ध्यान केन्द्र, सत्तल, हवनकुण्ड, परिसरमा ढुङ्गा छपाइ तथा शौचालयलगायत संरचना निर्माण सम्पन्न भएका गाउँपालिकाका इन्जिनियर बानियाँले बताए । स्थानीय जातका गाईको संरक्षण गर्दै आएको गौशाला क्षेत्रलाई तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । यहाँ निर्माण गर्न बाँकी केही संरचना गाउँपालिकाले थप बजेट विनियोजन गरी सम्पन्न गर्ने उनले जानकारी दिए ।

गौशाला, वराह शिवालय र प्रसिद्ध धार्मिकस्थल भुमेठाकुरलाई धार्मिक ‘सर्किट’का रूपमा जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए । विसं २०७१ मा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा स्थानीयवासीको सक्रियतामा आठ वटा गाईबाट सुरु गरिएको गौशालामा हाल ५० भन्दाबढी गाई छन् । यसअघि गौ महोत्सवबाट संकलित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेटबाट पनि केही संरचना निर्माण भइसकेका छन् । गौशालाको समग्र विकासका लागि करिब  १२ करोड बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ ।

गौशालामा व्यवस्थित पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय दिपक आचार्यको भनाइ छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । रासस

  • ७ बैशाख २०८३, सोमबार १७:०३ प्रकाशित