पोखरा ।
यहि वैशाख १८ गतेदेखि बन्दिपुरमा गाउँ पर्यटन मार्ट आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकीको सह आयोजनामा सो गाउँ पर्यटन मार्ट सञ्चालन हुने भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
गाउँ पर्यटन मार्ट दुई दिन अर्थात वैशाख १८ र १९ गते बन्दीपुर बजारमा सञ्चालन हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बाबु थापाले बताए ।बन्दीपुरमा मार्ट आयोजना गर्न पाउँदा आफू हर्षित रहेको र मार्टले बन्दीपुर गाउँपालिकाको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।बन्दीपुर भ्रमण वर्ष २०२५ सम्पन्न गरी पुन बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्षसमेत घोषणा भएकाले यो मार्ट आयोजना हुनु आफैमा महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले बन्दीपुर होमस्टे सर्किट निर्माणको काम अन्तिम चरणमा पुगेको सो अवसरमा बताए ।यसअघि तीनवटा मार्ट पोखरामा भएकोमा चौथो पर्यटन मार्ट बन्दीपुरमा हुन लागेको पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
मार्ट कार्यक्रममा सामुदायिक घरबास(होमस्ट) तथा पर्यटन व्यवसायीका स्टलहरु स्थापना गर्ने,प्यानल छलफल, विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिहरु मार्फत संस्कृति प्रवद्र्धन, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामाग्रीहरुको वितरण लगायतका गतिविधि हुने लामिछानेले बताए ।
बी–टू–बी र बी–टू–सी कनेक्टिभिटी अन्तर्गत गाउँका साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेहरुलाई सिधै सहरी बजार र ठुला एजेन्सीहरुसँग जोड्ने प्लेटफर्मको रुपमा विकास गर्ने मार्टको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
यस्तै सामुदायिक होमस्टे र सेवाहरुको बजारीकरण तथा बजारसँग जोड्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने उद्देश्य रहेको पत्रकार सम्मेलनमा बताइयो ।
मार्टमा करीब ३० भन्दा बढी गाउँ पर्यटन सम्बद्ध होमस्टे, फर्म, पर्यटन व्यवसायी, नीति निर्माताहरु, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाहरु, सञ्चारकर्मीहरु, स्वदेशी र विदेशी पर्यटकहरु, कलेज तथा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने आयोजकले बताएको छ ।
भिटोभ गण्डकीका अध्यक्ष सोभा सापकोटाको अध्यक्षतामा पत्रकार भेटघाट भएको हो ।













