सल्यान ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । जिपमा सवार अन्य १४ व्यक्ति घाइते भएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लुप्र ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे-१२ धाइरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकोछ ।
प्रहरीका अनुसार जिप दुर्घटनामा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको ज्यान गुमेको हो । दुर्घटनामा घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको हो।
दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । उनका अनुसार घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ ।
जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो । गम्भीर घाइतेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र चालक कुलबहादुर राना छन् । त्यसैगरी अम्मर पुन, नरसिङ थापा, प्रेमबहादुर घर्ती, नरबहादुर थापा, कर्णबहादुर थापा, लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापाको अवस्था मध्यम छ ।













