आज यी तीन प्रदेशको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल विशेष गरी हिमाली क्षेत्रमा बादल लागेको छ भने पहाडी भेगमा आंशिक बदलीको अवस्था छ ।

तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • २ बैशाख २०८३, बुधबार ०८:०२ प्रकाशित