भारतीय चर्चित गायिका आशा भोसलेको निधन

केन्द्रभाग मिडिया

मुम्बई ।

भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् । ७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।

उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ ।

भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान हिन्दी फिल्म संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् ।एजेन्सी

  • २९ चैत्र २०८२, आईतवार १३:३७ प्रकाशित