काठमाडौं।
‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरेकी छन् ।
त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।
विसं १९९८ असोज ९ गते जन्मिनुभएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।
सभामा शोक प्रस्ताव सर्वसम्मतिले पारितपश्चात् उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरियो थियो । राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १ः१५ मिनेटमा बस्नेछ ।रासस












