सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन : अर्थमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पारेका छन् । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन आग्रह गरे ।

सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उनले अनैतिक कार्य गर्नेलाई मात्रै कानुनबमोजिम नै कारबाही हुने बताए ।

‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ’ उनले भने ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्योरबेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ।’

सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको उनले बताए । तर यदि बजारमा कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार कारबाही हुने उनले स्पष्ट पारे ।

‘अहिले लगानीकर्ता प्यानिक हुन आवश्‍यक छैन, आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुने छन्’ उनले भने । नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उनले स्पष्ट पारे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो, लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयर बजारप्रति हामी कति उदार छौँ, त्यसबाटै स्पष्ट हुन्छ’ उनले भने ।बजारमा पनि सुनौला दिन आउने उनले बताए । अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उनले बताए ।

  • २३ चैत्र २०८२, सोमबार १४:२१ प्रकाशित