काठमाडौं ।
आज (सोमबार) देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि यो नियम लागु भएको हो ।
यस्तै आजदेखि सार्वजनिक बिदा पनि सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ । यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन १५ वैशाख देखि लागु हुने सरकारले जनाएको छ ।
तर जाडो याम १६ कात्तिक देखि १५ माघसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।













