काठमाडौं ।
राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरानबिच बढ्दो युद्धको तनावका कारण खाडी मुलुकमा रहेका नेपालीहरू असुरक्षित बनेको भन्दै उनीहरूलाई तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै बोहराले युद्धको रापले खाडी क्षेत्रमा कार्यरत झन्डै ८० देखि ८५ हजार नेपालीको जीवन जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
हिंसात्मक घटनाका कारण कतिपय नेपालीको मृत्यु भएको र केही घाइते भएको पुष्टि भइसकेको जानकारी दिँदै उनले नागरिकको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको बताए। बोहराले युद्धग्रस्त क्षेत्र र त्यसको प्रभाव परेका मुलुकहरूमा रहेका नेपालीहरू ठुलो संख्यामा स्वदेश फर्कन चाहेकाले उनीहरूका लागि सुरक्षित वातावरण मिलाउन ढिलाइ गर्न नहुनेमा जोड दिए।
उनले सदनमार्फत सरकारलाई आग्रह गर्दै विदेशमा रहेका नेपालीहरूको उद्धारका लागि ठोस योजना र प्रभावकारी कदम चाल्न माग गरे। खाडी मुलुकमा रहेका नेपाली कामदारहरू युद्धको चपेटामा परेर अलपत्र पर्न सक्ने भन्दै उनले सरकारले कूटनीतिक पहल र आवश्यक साधन स्रोतको परिचालन गरी आफ्ना नागरिकलाई सुरक्षित रूपमा घर फर्काउनुपर्ने धारणा राखे।













