काठमाडौं ।
गृहमन्त्री सुधन गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नागरिकसँग शिष्ट बोली, वचन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताए ।
आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोत नागरिकको सेवाको लागि उच्चतम प्रयोग गर्न उनले निर्देशन दिए ।सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।
प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणका क्रममा उनले त्यसो भनेका हुन् । उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गरे ।
गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आईजीपी दानबहादुर कार्कीसहितले स्वागत गरेका थिए ।कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ पनि सहभागी थिए ।












