केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।

शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको बताइएको छ ।अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।

  • १५ चैत्र २०८२, आईतवार ११:४८ प्रकाशित