पोखरा ।
पोखरामा पहिलोपटक विद्यालयमै इर्मजेन्सी रुमको व्यवस्था गरिएको छ।
पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयमा इमर्जेन्सी रुमको उद्घाटन गरिएको हो । उक्त इमर्जेन्सी रुमको उद्घाटन वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन । कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले विद्यालयको समग्र विकाससँगै स्वास्थ्य पक्षलाई पनि उत्तिकै महत्व दिइएको बताए ।
उनले भने, ‘विद्यालयको समग्र पूर्वाधार विकाससँगसँगै विद्यार्थीको स्वास्थ्य पनि प्राथमिकता बनाएका छौँ । आकस्मिक अवस्थामा तुरुन्त उपचार दिन मिल्ने यस रुमले जीवन रक्षा र स्वास्थ्य व्यवस्थापनमा ठूलो योगदान पुर्याउनेछ ।’
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले आवश्यक परे सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक कदम भएको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले विद्यालयमा पहिलोपटक यस्तो सुविधा थपिँदा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबीच उत्साह थपिएको बताए । उनले यस्तो व्यवस्था विद्यालयमा हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सुरक्षित वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे ।
चालु आर्थिक वर्षमा इमर्जेन्सी रुमका लागि बजेट विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । विद्यालयको इमर्जेन्सी रुममा सृजना आचार्य नर्स तथा दीपा लमिछाने फिजियोथेरापिस्टका रूपमा कार्यरत रहेका छन ।
देशकै नमुना सामुदायिक विद्यालयका रूपमा चिनिने अमरसिंह माध्यमिक विद्यालयमा करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन । विद्यालयमा इमर्जेन्सी रुम स्थापना भएसँगै आकस्मिक अवस्थामा विद्यार्थी तथा शिक्षकलाई तत्काल प्राथमिक उपचार उपलब्ध हुने विश्वास गरिएको छ ।













