उदयपुर बस दुर्घटनामा १५ घाइते (नामसहित)

केन्द्रभाग मिडिया

उदयपुर ।

उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीटोलस्थित मदन भण्डारी लोकमार्गमा आज भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ३०–४० फिट तल खसेर दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगाबाट सप्रनाउ भुवन भण्डारीको कमाण्डमा १३ जनाको क्यूआरटी टोली तथा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट प्रसनि तिलक पौडेलको कमाण्डमा ६ जनाको संयुक्त टोली खटिएको थियो । दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ भने चालक उदयपुर कटारी नगरपालिका–४ का ४५ वर्षीय विक्रम राईलाई प्रहरी चौकी संगमचोकले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा त्रियुगा नगरपालिका–११ की २२ वर्षीया मणिका मगर, कटारी नगरपालिका–४ की ३५ वर्षीया अनिता चौधरी, उदयपुरगढी गाउँपालिका–७ की ७३ वर्षीया सोममाया मगर, ताप्ली गाउँपालिका–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा नगरपालिका–७ चुहाडेका २१ वर्षीया रेशिका बस्नेत, रौतामाई गाउँपालिका–७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिपेश तामाङ, कटारी नगरपालिका–४ की १९ वर्षीया पवित्रा श्रेष्ठ , त्रियुगा नगरपालिका–५ की २० वर्षीया रेश्मा बस्नेत रहेका छन् ।

त्यस्तै कटारी नगरपालिका–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियार, कटारी नगरपालिका–३ का २७ वर्षीय नितेश बुढाथोकी (सहचालक) , कटारी नगरपालिका–५ का ७८ वर्षीय दलबहादुर तामाङ , कटारी नगरपालिका–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली गाउँपालिका–५ रुपाटारका २८ वर्षीय सुबाश नेपाली तथा कटारी नगरपालिका–४ का १५ वर्षीय सुजन तामाङ घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ११ फाल्गुन २०८२, सोमबार १४:५७ प्रकाशित