पोखरा ।
पोखरामा क्रियाशील राजनीतिक दल र नागरिक समाजले पोखरा महानगरलाई फोहोर व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार महानगरले आयोजना गरेको ‘सर्वदलीय, सर्वपक्षीय बैठक’मा बोल्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । पोखराको फोहोर व्यवस्थापनमा दलहरुले दोहोरो भूमिका खेलेको भन्दै आलोचना भइरहेको बेला दलहरुले फोहोरमा राजनीति नगर्ने प्रतिवद्धता नै जनाए ।
दल, नागरिक समाज र प्रशासनको प्रतिवद्धतासंगै पोखराका चोकहरुमा जम्मा भएको फोहोर उठ्ने विश्वास गरिएको छ । महानगरले पोखरा फोहोर प्रशोधन केन्द्र स्थापना गर्नभन्दै ठेक्का प्रक्रिया अगाडि बढाइसकेकाले त्यो नबन्दासम्म अस्थायी व्यवस्थापनका लागि विभिन्न ठाउँलाई विकल्पको रुपमा हेरेको महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार ति ठाउँहरुमा अघिल्लो दिन सहमति जुट्ने तर, भोलिपल्ट सहमति तोडिने हुँदा करिव एक महिनादेखि पोखराको फोहोर सहजढंगले उठ्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय कास्कीले फोहोर व्यवस्थापनका लागि प्रशासनबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएको छ । बैठकमा कानूनी दफा देखाउँदै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी महानगरकै रहेको बताए । उनले फोहेर उठाउन, लैजान र व्यवस्थापन गर्न अबरोध गर्ने जोसुकैपनि कानूनी कठघरामा उभिनुपर्ने प्रष्ठ्याए । फोहोरको मापदण्ड पूरा गरेको र स्थनीयलाई असर नपर्नेगरी फोहोर व्यवस्थापन गर्न महानगर अगाडि बढ्नुपर्र्नेे उनको प्रष्टोक्ति थियो ।
बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले महानगरले गर्ने निर्णयमा आफ्नो दल जे सहयोग गर्नुपर्छ त्यसका लागि तयार रहेको बताए । फोहोरका कारण पर्यटनको राजधानी दुर्गन्धित बन्ने र यहि कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा पोखराको बदनाम हुने स्थिति पैदा हुन नहुने उनको भनाई छ ।
नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले महानगरको निर्णयमा कांग्रेसको सहमती हुने बताए । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भनेर होमिएको पार्टीले फोहोरको डंगुरमाथि पार्टीको भविष्य नदेख्ने टिप्पणी गरे ।
नेकपा एमालेका उपाध्यक्ष भेषराज बरालले एमालेले फोहोरको राजनीति नगर्ने भन्दै कुनै पनि प्रदूषण नहुने र स्थानीयलाई असर नपर्नेगरी तत्कालका लागि फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । उनले दीर्घकालीन योजना पनि महानगरले तत्काल आगडि बढाउनुपर्ने धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पोखरा महानगर समितिका सभापती मनहरीप्रसाद आचार्यले फोहोर व्यवस्थापनमा अबरोध गर्नेहरुलाई जनताको बिचमा उभ्याउनुपर्ने बताए । रास्वपा फोहोर व्यवस्थापनमा कहाँ उभिन पर्छ, त्यहाँ उभिन तयार रहेको उल्लेख गरे ।
राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर केसीले एक महिनादेखि उठ्न नसकेको फोहोर व्यवस्थापन नै अहिलेको चुनौति भएकाले यसलाई अल्पकालीन समाधान खोजिनुपर्ने बताए । त्यसका लागि महानगरले नै स्थान तोक्नुपर्ने र त्यसमा आफूहरुको साथ, सहयोग र समर्थन रहने उनको भनाई थियो ।
नागरिक अभियन्ता रामबहादुर पौडेलले अब महानगरपालिकाले बोल्ड निर्णय गरेर कार्यान्वयनमा जानुपर्ने धारणा राखे । महानगरपालिकाको निर्णयमा नागरिक समाजको समर्थन रहने र आवश्यक परे कार्यान्वयनका लागि स्वयम्सेवक भएर काम गर्न पनि सघाउने प्रतिबद्दता उनले जनाए ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले विगतदेखि नै पोखरामा फोहोर व्यवस्थापनमा समस्या आउने गरेका भन्दै सबैको सहमति अनुरुप अब व्यवस्थापन हुनुपर्ने धारणा राखे । ‘पोखराको फोहोर व्यवस्थापनमा यसभन्दा पहिले पनि समस्या आउने गरेका हुन् । यसपालि सबै दल, नागरिक समाज र प्रशासनको समेत समुहिक प्रतिवद्धता आएको छ । यसमा आवश्यक समन्वय गर्न जिल्ला समन्वय समिति पनि तयार छ’ उनले भने, ‘सबैले प्रतिवद्धता पालना गर्नुपर्छ । यो साझा समस्या हो भनेर निकास निकाल्नुपर्छ ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दलहरु र नागरिक समाजको प्रतिबद्दता अनुसार महानगरपालिका अब फोहोर व्यवस्थापनमा लाग्ने बताएका छन् । उनले भोलिदेखि नै फोहोर उठाउने गरी महानगरपालिकाले निकास खोज्ने बताए । हाललाई अस्थायी रुपमा फोहोर फालेर त्यसलाई १० ईञ्च माटोले पुर्नेगरी व्यवस्थापन गरिने र कुनैपनिढंगले प्रदुशण नफैलिनेगरी फोहोर व्यवस्थापन गर्ने उनको प्रतिवद्धता छ । उनले दलहरुले दलहरुले प्रतिबद्धता जनाएअनुरुप सहयोग प्राप्त हुने अपेक्षा रहेको बताए ।















